पोखरा ।
नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उनकी ७० बर्षीया आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण कर्माचार्यको निधन भएको हो। उनका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य छन भने दुई नाति र तीन नातिनी छन् ।
स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष हुन् । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य एवं नेपाल लोकतान्त्रिक उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत हुन् ।
स्व. कर्माचार्यको पार्थिव शरीर बिहीबार अबेरसम्ममा नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।













