पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले बुझायो मुख्यमन्त्रीलाई प्रतिवेदन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर थप पूर्वाधार निर्माणमा लाग्नुपर्ने, अब छिट्टै घोषणा हुन्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ ।

पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्दै जानुपर्ने निस्कर्षसहितको ४५ पृष्ठ लामो प्रतिवेदन समितका संयोजक प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले मुख्मन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरको सहकार्य र समन्वयमै समिति गठन गरेको र काम अगाडि बढाएको बताए । उनले पोखरा पोखरा पर्यटकीय राजधानी घोषणा नगरेपनि राजधानी नै रहेको उल्लेख गरे । राजधानी कस्तो हुनुपर्छ र कस्तो अवस्थामा छौं भन्ने कुरा प्रतिवेदनले देखाएको उनले बताए ।

पर्यटकीय राजधानीको पूर्वाधार निर्माणका लागि पोखरा महानगर र अरु पालिकाहरुसंगको समेत सहकार्यमा काम गर्ने उनले प्रतिवद्धता जनाए । मुख्यमन्त्री पाण्डेले प्रतिवेदनमा आएको सुझाव अनुरुप नै अगाडि बढ्ने बताएका छन् । ‘घोषणा नगरेपनि पोखरा पर्यटकीय राजधानी नै हो । घोषणा गर्न मात्र बाँकी हो ।’ उनले भने, ‘प्रतिवेदनले अहिलेको अवस्था कस्तो छ । राजधानी कस्तो हुनुपर्छ र हामी कसरी अगाडि बढ्ने भनेर प्रष्ट्याएको छ । पोखरा महानगर र अरु पालिकाहरुसंग समेत सहकार्य गरेर प्रतिवेदन अनुरुप नै अगाडि बढ्छौं’

अध्ययन समितिका संयोजक रहेका गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले नेपालको सन्दर्भमा पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पूर्वाधार तयार रहेको जानकारी दिए । उनले दुई वर्षे ५ वर्षे र दीर्घकालिन योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता प्रतिवेदनमा प्रष्ट्याइएको बताएका छन् ।

तत्काल पर्यटकीय राजधानी घोषणा गर्दा देशकै प्राथमिकतामा पर्ने र पूर्वाधार निर्माणमा समेत सहज हुने ठम्याइका साथ मेहनत गरेर प्रतिवेदन तयार पारिएको उनले जानकारी दिए । ‘तत्काल पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने आधार तयार छ ।’ उनले भने, ‘पर्यटकीय राजधानी घोषणासंगै सिंगो गण्डकी प्रदेशका पर्यटकीय स्थलहरुको विकास गर्ने र समय तोकेरै पूर्वाधार तयार गर्दै जानुपर्छ भन्ने हाम्रो निस्कर्ष हो ।’

नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रहेका थियो ।

त्यस्तै, पर्यटन विज्ञका रूपमा डा।रामजी शर्मा, वासुदेव त्रिपाठी सदस्यका रूपमा राखिएका छन् भने जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रतिनिधि, पर्यटक प्रहरी कास्की प्रमुख र नेपाल पत्रकार महासंघ, कास्कीका प्रतिनिधि सदस्य रहने जनाइएको छ। समितिको सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख सदस्य थिए ।

समितिलाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पूर्वाधार पहिचान गर्ने, पर्यटकीय राजधानीको रूपमा विकासका लागि सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रियाहरू पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्नेलगायतका कार्यादेश तोकिएको थियो ।

अब छिट्टै पर्यटकीय राजधानी घोषणा हुन्छ : मेयर आचार्य

पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने बताएका छन् । समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर पर्यटकीय राजधानी घोषणा गरिने उनले केन्द्र खबरलाई प्रतिक्रिया दिए ।

प्रमुख आचार्यले प्रदेश सरकार र पोखरा महानगरले यस अगाडि बाट नै पर्यटकीय राजधानी घोषणाका लागि निर्णय नै गरेर पठाइएको स्मरण गरे । उनले अब आफूहरुले प्रधानमन्त्रीलाई भेट्ने र त्यसपछि सल्लाह गरेर पर्यटकीय राजधानी घोषणाको मिति तोक्ने उनको भनाई छ । ‘पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले यस अगाडि नै केन्द्र सरकारसंग पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर पठाइसकेका हौं ।

अध्ययन गर्न गठित समितिले पनि आधार तयार भएको प्रतिवेदन दिएको छ । त्यसै प्रतिवेदनलाई आधार मानेर प्रदेशसंग समन्वय गर्दै अब प्रधानमन्त्रीलाई भेट्न जान्छौं । त्यसपछि केन्द्र, प्रदेश र महानगर सबै मिलेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने हो’ उनले भने ।

 

  • २६ पुष २०८०, बिहीबार १७:४५ प्रकाशित