धनगढी ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु हुँदै छ । पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ ।
नाउपाका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्वसमेत उदघाटन समारोहमा हुने उनको भनाइ छ ।
महाधिवेशनमा ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने चौधरीले बताए । मनोनित केन्द्रीय सदस्यहरुसमेत गरी नाउपाको केन्द्रीय समिति ५०१ सदस्यीय हुनेछ ।
टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नाउपा गठन गरी दुई वर्ष अघि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।













