काठमाडौं ।
बलात्कार मुद्दामा दोषी ठहर भई ८ वर्ष जेल सजाय सुनाइएपछि क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको छ । जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ ।
सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको भनाई छ ।बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजायँ हुने निर्णय बुधबार सुनाएको थियो । यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ सार्वजनिक भने भएको छैन ।
सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।क्यानका एक पदाधिकारीको दाबी अनुसार पुनरावेदनको फैसला नआउन्जेल सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट अलग गर्ने निर्णय हुने छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो ।
त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।













