भीमादमा जिप दुर्घटना : दुई जनाको ज्यान गयो , १० जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौँ ।

तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको उनले जानकारी दिए ।

बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो ।

खाँणका अनुसार अन्य १० घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम छ । यस्तै ३ जनाको अवस्था सामान्य रहेको उनले बताए ।

  • २५ पुष २०८०, बुधबार १३:३८ प्रकाशित