बाह्रौँ पोखरा महोत्सवको तयारी पुरा, यी दर्शकले पाउनेछन् निशुल्क प्रवेश

केन्द्रभाग मिडिया

पोखरा ।

बाह्रौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

आगामी पुस २६ गतेबाट माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक यूनाइटेड क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल नारासहित सञ्चालन हुने महोत्सवमा शारिरीक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुल्क प्रवेशको व्यस्था गरिएको आयोजकले बताएको छ ।

आयोजकको अनुसार महोत्सवमा २३० देखी २५० स्टल रहने छन् भने सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण पर्यटन प्रवर्द्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी दिइनेछ ।

यस्तै सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछ । हिमाली भेगमा चौरी गाईको दैनिकी जिवनमा आवश्यक्ता र देशको आर्थिक चलायमानमा चोरी गाइको भुमिकाको बारेमा जानकारी दिनका लागि बाह्रौं पोखरा महोत्सवमा चौरी गाइको प्रदर्शनी गरिने आयोजकले उल्लेख गरेको छ ।

महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले. ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

लाईभ कन्सर्ट तर्फ मन्त्र, लाहुरे,सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीवब, माइला, श्री ३, रक हेड्स लगायत लोकल व्याण्डहरुको प्रस्तुती रहने छ ।

त्यसैगरी हास्य व्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुत बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्म कार्यक्रमहरु रहनेछन ।

महोत्सवबाट हुने बचत रकम लेखनाथको अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि आवासीय छात्रावास निर्माण र सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याइने भएको छ ।

आयोजक युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवर्द्धनका लागि पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखानाको अवधारणा समेत अगाडि बढाउदै पोखरा महोत्सव आयोजना गर्दै आइरहेको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुन्याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष  पुर्‍याउने उद्देश्य लिएको छ ।

यस्तै गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुन्याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुयाउने र उद्योगको प्रबर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिएको छ ।महोत्सवमा रवि एन्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको छ ।

  • २४ पुष २०८०, मंगलवार १६:३२ प्रकाशित