काठमाडौँ ।
काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा घर भएका ५० वर्षीय कामेश्वर शाह, बारा नै घर भएका २० वर्षीय मनिष सरार्फ र पर्सा घर भएका ३२ वर्षीय सुमनकुमार सरार्फ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौँको भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छली गरी बिलबिजक बिना चाँदीका गरगहनाहरू बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले बिलबिजक बिना चाँदीको गरगहनाहरूको कारोबार गरेको हुँदा उनीहरूलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।













