अन्तरपालिका साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख प्रदान गर्दै पोखरा महानगरपालिका

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकासँग साझेदारी कार्यक्रम गर्ने भएको छ ।

महानगरले छिमेकी पालिलाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो ।

महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने बताए । यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो ।

‘अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल गरेका हौँ । छिमेकी पालिकालाई २५ लाखका दरले रकम प्रदान गर्ने र समन्वयमा खर्च गर्ने महानगरको बजेट कार्यक्रममा राखिएको विषयलाई कार्यान्वयन गर्न सुरु गरेका छौ’, प्रमुख आचार्यले बताए ।

महानगरको चालु आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा कार्यक्रममा छिमेकी पालिकासँग आवश्यकताका आधारमा साझेदारीमा आयोजना सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको थियो । बैठकमा कास्कीको रुपा, अन्नपूर्ण, मादी र माछापुच्छे गाउँपालिका सहित स्याङ्जाको फेदीखोला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।

  • २४ पुष २०८०, मंगलवार १०:२८ प्रकाशित