उम्मेदवार चयनलाई लिएर कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले राखे विमती

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विमती जनाएका छन् । महामन्त्री थापाले यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय स्मरण गराउँदै असहमति जनाएका छन् भने अर्का महामन्त्री शर्माले राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरुकै हो भन्ने हेक्का कांग्रेसले नराखेको बताएका छन् ।

महामन्त्री थापाले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको बताएका छन् । साथै उनले सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको उल्लेख गरेका छन् । यद्यपी असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने पनि थापाले स्पष्ट पारेका छन् ।

महामन्त्री शर्माले राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरुकै हो भन्ने हेक्का कांग्रेसले नराखेको, समावेशीताको सिद्धान्तमा विधानमा भए पनि व्यवहारमा लागू नभएको, योगदान र योग्यता बोकेका सयौं भए पनि जिम्मेवारीको अवसर न्यायोचित नभएको लगायतकाका विषयमा विमति राखेका छन् ।

‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?’ भनेर पनि प्रश्न गरेका छन् ।

  • २३ पुष २०८०, सोमबार १०:०५ प्रकाशित