पोखरा ।
कास्कीको लेखनाथमा गत मंसिर २४ गते दुई जनाको ज्यान जाने गरि ठक्कर दिने कार चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
स्कुटरमा सवार दुई युवतीको ज्यान जाने गरि ठक्कर दिने चालक मानबहादुर बानियाँलाई सवारी ज्यान सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको हो । न्यायाधीश ऋषिराम आचार्यको इजलासले आज(आइतबार) बानियाँलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।
पोखराबाट तालचोक तर्फ जाँदै गरेको बानियाँले चलाएको बिएए ००४१ नम्बरको कारले तालचोकबाट पोखरा तर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई मंसिर २४ गते दिनको ४ बजेर १५ मिनेटको समयमा ठक्कर दिएको थियो । ठक्करबाट पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको थियो ।
आज अदालतमा थुनछेक बहस हुने थाहा पाएपछि मृतका आफन्त र स्थानीय अदालत पुगी नाराबाजी गरेका थिए ।













