तेस्रो चरणको आन्दोलन गर्ने आम जनता पार्टीको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ । भन्सार निवमावलीमा रहेको कमिसनसम्बन्धी व्यवस्था हटाउन माग गर्दै आजपाले आन्दोलन गर्दै आएको छ ।

जसअनुसार पहिलो चरण र दोस्रो चरण गरी करिब ४ महिना आन्दोलन गरिसकेको आजपाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पार्टीका अध्यक्ष प्रभु साहले पौष २७ गते राजस्व नीतिबारे अर्थ बिज्ञहरुसँग काठमाडौँमा अन्तरक्रिया गर्ने तय भएको जानकारी दिए ।

यस्तै पौष २५ देखि माघ १० गतेसम्म सीमाक्षेत्रका स्थानीय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, माघ ६ गते भन्सार नीतिबारे राजनीतिक पार्टी तथा सांसदहरुसँग छलफल गर्ने, माघ ११ देखि १९ गते तराईका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल र्याली गर्ने तय भएको छ । यसैगरी ⁠माघ १३ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने र माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग तथा जिल्लाका भन्सार कार्यालयहरु घेराऊ गर्ने तय भएको साहले जानकारी दिए ।

भन्सार कानूनमा रहेको गलत प्रावधानहरू नहटेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ छ । भन्सार नियमावलीमा रहेका पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने, देशको राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरूपता ल्याउनेलगायतका मागसहित भदौ ३१ गते ज्ञापनपत्र मार्फत सुरू गरिएको पहिलो आन्दोलनमा “जिल्ला जिल्लामा अन्तरक्रिया गर्ने, नियमावली जलाउने, जिल्ला भन्सार कार्यालयहरु घेराऊ गर्ने तथा भन्सार विभागमा धर्ना र घेराऊ” लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको साहले बताए ।

चार महिनादेखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकार शान्तिपूर्ण धर्नामाथि हस्तक्षेपमा उत्रिएको भन्दै साहले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नरहेको बताए ।

  • २२ पुष २०८०, आईतवार १५:२८ प्रकाशित