जनकपुरधाम ।
सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर ज्यान गुमाएका स्थानीय युवक जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो ।
बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको ज्यान गएको थियो ।
शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि भएको थियो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफल विना निष्कर्ष सकिएको थियो ।
आज पुनः आन्दोलनरत पक्ष, मृतक परिवारका सदस्यसहित इलाका प्रशासन कार्यालय बरहथवामा छलफल हुने भएको छ ।मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेका छन् ।













