डुम्रे ।
राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तिदैं गएको बताएका छन् । गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता समेत राष्ट्रपति पौडेलले प्रकट गरेका छन् ।
भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै आज राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने अवस्था रहेको गुनासो गरे ।
‘अबका दुईचार वर्षमा यी सबै गाउँमा कालोपत्र सडक पुर्याउन हामी लागेका छौँ । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ?’, राष्ट्रपति पौडेलले भने,‘विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैँसँग गरिरहेको छु । उत्तर पनि मसँगै छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बन्न सकेन ।’
राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रमशक्तिको पलायन भएको उल्लेख गरे । ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभयो । उतै बस्नु भयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ’, उनले भने ।
उनले अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । उनले गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे ।