पोखरा महानगरपालिका १ का वडा बासीका लागि अब हरेक साता शनिबार सामुहिक व्यायाम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा हरेक हप्ताको शनिबार सामुहिक व्यायामको आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ खेल विकास समितिको आयोजनामा सामुहिक व्यायामको आयोजना गरिन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

आगामी पुष २१ गते देखी प्रत्येक हप्ताको शनिवार बिहान ६ः३० देखी ८ः३० बजे सम्म सामुहिक रुपमा ब्यायाम गराइने पोखरा महानगरपालिका वडा नम्बर १ खेलकुद बिकास समितिले पत्रकार सम्मेलनमा जानकारी  दिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको राष्ट्रिय माविको प्राङ्गण, टुडिखेलमा आऔं खेलौँ, स्वस्थ बनौ भन्ने नाराका साथ व्यायामको शुरुवात गर्न लागिएको बताइएको छ।

वडा बासीहरुलाई शारिरीक व्यायाम र खेलकुद प्रति जनचेतना फैल्याउनु साथै वडा बासीहरुको स्वास्थ्य स्थितीमा सुधार ल्याउने उद्देश्यका सामुहिक व्यायामको आयोजना गर्न लागेको आयोजकको भनाई छ ।

शारिरीक तन्दुरुस्तीका लागि आयोजना गरिने व्यायामका लागि दुई जना जुम्बा विज्ञ र एकजना योगा प्रशिक्षकको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहारा प्रधानले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै वडाले यो कार्यक्रम लागू गरेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरूङले खेलको महत्वको बारेमा बताएका थिए ।

  • १९ पुष २०८०, बिहीबार १६:२८ प्रकाशित