राष्ट्रियसभा सदस्यकालागि एमाले गण्डकीले गर्यो ९ जनाको नाम सिफारिस्

केन्द्रभाग मिडिया

 

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यका लागि नाम सिफारिस गरेको छ । राष्ट्रिय सभामा गण्डकी प्रदेशमा रिक्त रहेको ३ स्थानका लागि एमालेले ९ जनाको नाम सिफारिस गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।  राष्ट्रिय सभामा गण्डकीका ३ सदस्यको पदावधी सकिन लागेको हो ।

गण्डकीबाट खुल्लातर्फ एक, अल्पसंख्यक तथा अपांगता क्षेत्रबाट एक र महिला तर्फ एक गरेर तीन स्थान रिक्त हुन लागेको हो । सो स्थान पूर्तिका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १९ जना र एक जना मनोनित गरेर २० जनाको पदाबधी २० फागुनमा सकिँदैछ । १९ जना राष्ट्रियसभा सदस्यका लागि सात वटै प्रदेशमा निर्वाचन हुन लागेको हो ।

एमालेले खुल्लातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरेको छ । त्यस्तै, अल्पसंख्यक तथा अपाङ्गतातर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना वरामको नाम सिफारिस भएको एमाले गण्डकीले जनाएको छ ।

यसैगरी, महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल आचार्यको नाम सिफारिस भएको सचिव दवाडीले जानकारी दिए ।

विभिन्न २५ जना नेताहरुले आकांक्षा राखेको भएपनि अबसर नपाएका अग्रजलाई कलष्टर अनुसार ९ जना सिफारिस गरिएको उनले बताए । ‘एमाले गण्डकी प्रदेश कमिटीको बैठकमा २५ जनाले राष्ट्रिय सभाका लागि अपेक्षा राख्नुभएको थियो । उम्मेद्वार सिफारिस गर्ने जिम्मा सचिवालयलाई दिइएकोले सचिवालय बैठकले विभिन्नढंगले मूल्यांकन गरेर कलस्टर अनुसारका अग्रज ९ जनालाई सिफारिस गरेको हो’ उनले भने ।

 

  • १८ पुष २०८०, बुधबार १६:५२ प्रकाशित