काठमाडौँ ।
भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले भोलि १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । विदेशमन्त्री जयशंकर भोलिदेखि नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् ।
सोही क्रममा दुवै देशका मन्त्रीले तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतकाअनुसार दुई मन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन् ।
त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।
यता नेपाल भारतबिच मध्यकालीन र दीर्घकालीन ऊर्जाको विषयमा छलफल गर्न भारतको ऊर्जा मन्त्रालयका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । नेपाल–भारत ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय सो बैठकले इनर्जी बैंक बनाउने बारेमा सहमति खोज्ने प्रयास हुने स्रोतले जनाएको छ ।
सो बैंक बनाउने सहमति भयो भने त्यसलाई पुस २०–२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने छ । भोलि हुने संयुक्त आयोगको बैठकमा दुवै देशबिच वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सह सचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै बैठकमा नेपालले कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारेज गरेर भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ । भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।













