काठमाडौँ ।
राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई पनि भाग दिने तयारी भइरहेको छ । निर्वाचनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच आज छलफल हुँदैछ ।
बुधबार (आज) साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको बैठक बस्न लागेको हो ।आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको छलफलमा दिउँसो ३ बजे गठबन्धन बैठक गरेर साँझ एमालेसहितको बैठक बोलाउने सहमति भएको छ । मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको थियो ।
छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई तीन–चार सिट दिएर जाने विषयमा कांग्रेस र माओवादीको तहमा छलफल भएको छ । कांग्रेस र माओवादीबिच भएको छलफलबारे आज दिउँसो गठबन्धन सम्बद्ध जसपा र एकीकृत समाजवादीसहित बैठकमा छलफल हुने छ ।
उपप्रधान तथा रक्षामन्त्री समेत रहेका खड्काले राष्ट्रियसभाका उम्मेदवार टुंग्याउन विषयमा छलफल भएको बताए । राष्ट्रियसभाको भागबन्डा नटुंगिएसम्म दलहरुका बिचमा बैठक चलिरहने उनको भनाइ छ । आगामी फागुन २० मा एमालेका ९एक मनोनीत० सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरुबिच सिट बाँडफाँटबारे तीव्र छलफल भइरहेको छ ।