‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग

केन्द्रभाग मिडिया

File photo

चितवन ।

जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान) को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ ।

हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङले अनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला रु दुई हजार पाँच सय पाउँदै आएका छन् । साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला रु चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उनले बताए ।

काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरुको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आउनुभएका चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरुले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

उनले भने, ‘पर्यटकलाई बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा ९राफ्टिङ गराएर होटलसम्म पु¥याउनुपर्ने हुन्छ, सधैँ काम हुँदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।’

त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले त्रिशूली नदीको जलयात्रामा आश्रित स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ ।

साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उनको भनाइ छ ।

  • १८ पुष २०८०, बुधबार १०:३४ प्रकाशित