पोखरामा केटीको फेक फेसबुक आइडी बनाई ठग्ने ३ युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा केटीको नाममा फेक फेसबुक आइडी बनाएर युवाहरुलाई ठगी गर्ने ३ जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्र्यापमा पारेका हुन् ।

सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइएको कास्की प्रहरीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार तीनैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

  • १८ पुष २०८०, बुधबार ०८:३१ प्रकाशित