पोखरा ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले विचारधारात्मक राजनीतिले बाटो छाड्दा रवि लामिछाने प्रवृत्ति मौलाएको टिप्पणी गरेकी छन् । मंगलबार विहान पोखरामा पार्टीका आगुवा नेता कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नकरात्मक प्रवृत्तिका मानिसले सबैकूरा नराम्रो भएको प्रचार गर्ने र त्यसैलाई सत्य ठान्ने वर्तमान अवस्था नै समस्या रहेको उनको भनाई थियो । ठग, चोर र डाँका सबै राजनीतिमा आएको भन्दै उनले राजनीति सुद्धिकरण आजको अवश्यकता रहेको बताइन् । ठग मानिस समाजको आइडल बन्ने तर, देश र जनताका लागि जेलनेल खाएका र जीवन हत्केलामा राखेर राजनीति गर्नेहरु चुपचाप बसेर समाज परिवर्तन नहुने उनले धारणा गरिन् ।
राजनीति ठगले नभई सुजबुझपूर्ण व्यक्तिले गर्ने समाज सेवा रहेको उनको धारणा छ । सस्तो लोकप्रियताको पछि लाग्दा कतै नपुगिने उनको भनाई छ । वर्तमान खुला अर्थव्यवस्था रहेको विश्वमा मानिस रोजगारीका लागि बाहिर जानुलाई ठूलो समस्याको रुपमा लिन जरुरी नरहेको उनले बताइन् । ‘बिचारधारात्मका राजनीतिले बाटो छाड्दा रवि लामिछाने प्रवृत्ति मौलायो । राजनीति सुजबुझपूर्णढंगले गरिने समाज सेवा हो । यो ठग, चोर र डाँका सबै राजनीतिमा आएका छन् अनि समाजले यसैलाई आइडल मानेको छ । यो सबै हाम्रै कारणले पनि भएको हो’ उनले भनिन् ।
मानिसहरु पढ्न वा रोजगारीका लागि बाहिर गएकोमा चिन्ता नभई तुलनात्मकढंगले हामीले किन रोजगारीका अबसर सृजना गर्न सकेनौं र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने शिक्षा स्वदेशमै दिन किन सकेनौं भनेर सुधार तर्फ लाग्नुपर्ने उनले बताइन् । एयरपोर्ट ट्रान्जिट गर्ने स्थल रहेकाले जहाजमा जति बाहिरिन्छन् त्यति नै भित्रने कूरालाई विर्सन नहुने उनको टिप्पणी छ ।
देशमा देखिएको विद्यमान सहकारीको समस्या एमाले नेता केशव बडाल जस्ता नेताहरुका कारण आएको उनको आरोप छ । सहकारीलाई छाडा छोड्न हुन्न भनेर आफूहरु एमालेमै रहँदा नीतिगत रुपमै सुधारको प्रयास गर्दा सहकारीको अभियान्ता हुँ भन्ने केशव बडालहरुकै कारण सुधार गर्न नसकेको उनको भनाई थियो ।