महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो। तर, हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौं। तसर्थ, आगामी दिनमा यसलाई प्राथमिकता दिनेगरि यसको पुनर्संरचना आवश्यक छ।’

‘महिलाहरूलाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिन्छ’ प्रधानमन्त्रीले भने, ‘त्यसका लागि महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्नुस्।’

बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले पछिल्लो समयमा बाल सुधार गृहहरूमा केही समस्याहरू देखिएको र ती समस्याहरूको अन्तर्यमा कानुनी प्रबन्ध नै मुख्य रूपमा जिम्मेवार रहेको बताउँदै त्यसका निम्ति आवश्यक पहल लिनुपर्नेमा जोड दिए ।

 

  • १७ पुष २०८०, मंगलवार १६:५७ प्रकाशित