काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् । आफ्नो लगानीमा खुल्न लागेको रिसोर्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् ।
रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै मन्त्रालय पुगेका उनले ढिलासुस्तीप्रति तीव्र आक्रोश पोखे । सो क्रममा उनको मन्त्रीदेखि सचिवसँग चर्काचर्की परेको बताइएको हो ।
आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले सञ्चारकर्मीलाई बताए ।रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताए ।
उनले काम नहुने भए सबै फाइल च्यात्न तयार रहेको भन्दै नभएको काम नभएमा अनसन बसेर सरकारलाई दबाब दिने बताए ।













