पोखरा।
हिजो बाट सुरु भएको २५ औँ सडक महोत्सवमा आज लाइभ ब्यान्ड तर्फ दिपक बज्राचार्यले स्टेज तताउने भएका छन् । भने लोकदोहरी तर्फ प्रिती आलेको प्रस्तुती रहने आयोजक रेवान पोखराले जानकारी दिएको छ ।
भोलि १४ गते मुक्ति एन्ड रिभाइभल, लक्ष्य ब्यान्ड, १५ गते(न्यु इयरको रात) द एलिमेन्ट्स र लाहुरेको प्रस्तुति रहनेछ ।यस्तै लोक दोहोरी तर्फ पुस १४ गते पशुपति शर्मा र १५ गते बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले दर्शकलाई झुमाउनेछन् ।
हिजो देखि सुरु भएको महोत्सव पुस १६ गते सकिनेछ ।महोत्सवको लागि लेकसाइडको तीन किलोमिटर क्षेत्रलाई सजाइएको छ । दर्शकको मनोरञ्जनको लागि अम्मट, गौरीघाट, हल्लनचोक र खहरेमा गरि ४ वटा स्थानमा स्टेज बनाइएको आयोजकले जनाएको छ ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुने सडक महोत्सवको रजतजयन्ती भएकाले यसपाली सडक महोत्सवलाई विगतका वर्षहरुमा भन्दा धुमधामसहित विशेष रुपमा सम्पन्न गर्ने महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।
बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ महोत्सवको आर्कषणको रुपमा रहने छ ।
यस्तै पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, वालवालिकाहरुका लागि चित्रकला, मःम, ससेज खाने प्रतियोगिता गरिने भएको छ ।
कुक, वार मेन प्रतियोगिता र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकीय गन्त्व्यको प्रर्वद्धन गरिने आयोजकले बताएको छ ।