काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् ।
बुधवार सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिको कोर्स चेन्ज गर्ने भूमिका खेलेको र आज मात्रै बसेको समाजवादी मोर्चाको बैठकमा समेत एकीकृत समाजवादीबारे चर्चा भएको बताएका हुन् ।
‘राष्ट्रिय राजनीतिमा हाम्रो हैसियत, हाम्रो भूमिका छ भन्ने कुरालाई नबिर्सनुस् । हामीले त नेपालको राजनीतिको कोर्स चेन्ज गर्दै आएका छौ’, अध्यक्ष नेपालले भने, ‘कता जाने हो यो राजनीति भन्ने स्थितिमा हामीले भूमिका खेलेर ठिक दिशामा लिएर गएका छौँ ।’
उनले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै उनले अहिले पनि आफूहरू नेपाली विशेषताको समाजवाद के हुनसक्छ भनेर गम्भीर चिन्तन मनन गरिरहेको बताए ।
‘पार्टीभित्र पनि गरिरहेका छौ र आजै समाजवादी मोर्चाको बैठकमा पनि प्रस्ताव राखेका छौँ । नेपाली विशेषताको समाजवाद के हुनसक्छ रु यसका निम्ति एउटा गोष्ठी सेमिनार राखौँ, अन्तर्राष्ट्रिय अनुभवहरू पनि हेरौँ’, नेता नेपालको भनाइ छ । उनले मोर्चाको बैठकमा जनताले चाहे अनुसारको परिणाम सरकारले दिन सकेको छैन भनेर समेत प्रश्न गरेको बताए । त्यसको जवाफमा प्रधानमन्त्रीले समेत ठिक छ भनेको र आफू नयाँ ढङ्गले जान खोजेको बताएको नेपालले बताए ।













