काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्रिदैँ गएको भन्दै चिन्ता जनाएका छन् ।
आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ भन्ने कुराको चिन्ताको विषय भएको बताएका हुन् । पौडेलले यस समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन् ।
पौडेलले भने, ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ रु नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ ।
यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रूपमा हजारौँ नेपाली युवाहरू ताँती लागेर विदेशीने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।’
कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरूप निर्धारण हुनुपर्नेमा उनले जोड दिए । बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो भन्ने उनको भनाइ थियो । “यसका लागि सामूहिक प्रयत्नको जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूबाट हुन आवश्यक छ”, राष्ट्रपति पौडेलले भने ।















