पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रीको ज्यान गयो, चालक फरार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा गएराती कारले ठक्कर दिदाँ दुई पैदल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङ स्थित सिद्धार्थ बैक अगाडी बागलुङ बसपार्कबाट जिरो कि.मी.तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं को कारले पैदल यात्रीलाई ठक्कर दिदाँ घाईते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखरा महानगरपालिका ३ नदीपुर बस्ने बर्ष २० का ढालेन्द्र छन्त्याल रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिएका छन् । अर्का मृतकको हाल सम्म नाम थर वतन खुल्न नसकेको उनले बताए । उनी अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।

दुवै घाईतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा ज्यान गएको हो ।

कार चालक फरार रहेका छन् भने वडा प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भइरहेको छ ।

  • १० पुष २०८०, मंगलवार ०९:४३ प्रकाशित