पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको मकैको खोइला प्रहार ‘वेल प्लान्ड’ जस्तो देखिएको बताएका छन । सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूमाथि निरन्तर प्रहार भइरहेको र पोखरा खोइला प्रहार पनि ‘वेल प्लान्ड’ जस्तो देखिएको टिप्पणी गरे ।
लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गरे । आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उनको भनाइ छ ।
‘मैले लोन लिएको प्रमाण चाहियो । मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुपर्यो’, लामिछानेले भने, ‘जुन सहकारीमा म सदस्य छैन । लोन मैले लिएको भन्ने छ तिर्न पाउँ ।’
उनले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको बताए । ‘उहाँहरूको विभिन्न व्यवसायसँगै ग्यालेक्सी पनि एक व्यवसाय हो । मेरो सहकार्य ग्यालेक्सीसँग भएको हो । त्यसका लागि मैले सम्झौता गरेको छु’, उनले भने, ‘मेरो उहाँहरुसँग अन्य आबद्धता छैन । मैले टिभी छाडेको डेढ वर्षपछि सहकारी धरासयी भयो । टेलिभिजनलाई त्यसको असर पर्यो । टिभी छाड्दा मैले सबै बुझाएर निस्केको हो ।’
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सो क्रममा आलोचना गरे । लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप लगाए ।