पोखरा ।
चरक मेमोरियल हस्पिटल पोखराको चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिका घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्रांगणमा भएको स्वास्थ्य शिविरबाट वरपरका ६५० जना बढी लाभान्वित भएका छन् ।
लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी वडा नं. ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधी वितरणसमेत गरिएको चरकका पव्लिक रिलेसन अफिसर सोबित सुवेदीले जानकारी दिए ।
उनका अनुसार शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको गरिएको थियो । शिविरमा जाँचका लागि डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायत स्वास्थ्य जाँचमा सहभागी थिए ।
चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले अस्पतालले यस खालका शिविर सञ्चालन गर्दै आएको बताए । उनले गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए ।
चरक अस्पतालले हालै गोरखामा पनि स्वास्थ्य शिविरमा सम्पूर्ण प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बलबहादुर केसी तथा सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।














