ललितपुर ।
देशभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो ।
उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गरेका छन् । यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो ।
उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले निकट भविष्यमै अधिवक्ताको ल फर्मबाटै मुद्दा र रिट निवेदन दर्ता गर्ने दिन आउने बताएका छन् । प्रधानन्यायाधीश श्रेष्ठले अबको काम अनलाइन रजिस्ट्रेसनबाटै सुरु गर्ने बताएका हुन् ।
‘निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ भन्ने विश्वास छ, म त्यसका लागि लागिरहेको छु’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अब तारेख लिन पनि अनलाइनबाटै हुन्छ कि भनेर अध्ययन गरिरहेको छु । सायद त्यो पनि सम्भव छ ।’
उनले भारतमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारण पनि हुने गरेको भन्दै आफूले पनि त्यहीँ बारेमा सोचिरहेको बताए ।
स्वचालित पेशी तारेख सुरु भएपछि एसएमएसमार्फत जानकारी समेत उपलब्ध हुने जनाइएको छ । मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुनेछ














