काठमाडौँ ।
क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
आइतबार सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गर्ने छन् । त्यसैगरी प्रतिवादीका तर्फबाट लिड लयर रहेका अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी, अधिवक्ताहरु रोशनी पौडेल र मुरारी सापकोटाले बहस गर्ने बताइएको छ ।
सुरुमा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलको बहस हुनेछ । त्यसपछि प्रतिवादीतर्फका वकिलहरुले आफ्नो बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ७ जनाले बहसको तयारी गरेकाले आइतबार नै बहस सकिने सम्भावना भने न्युन छ ।
कानुन व्यवसायीको सङ्ख्या धेरै भएको, प्रतिवादीका कानुन व्यवसायीबाट ४४ पृष्ठको बहस नोट पेस भएको आदि कारणबाट यो मुद्दा आइतबार हेर्दाहेर्दैमा रहेर छिटोमा सोमबार र ढिलोमा मंगलबारसम्म फैसला हुने अपेक्षा गरिएको छ ।