पोखरा ।
रास्वपाका अध्यक्ष रवि लामिछाने माथि कार्यक्रम स्थलमै मकैको खोइला प्रहार भएको छ । पोखराको अम्मरसिंह चोकमा पार्टीले आयोजना गरेको खुला सभामा सहभागी भएका उनलाई सहभागी मध्ये एक जनाले खोइला प्रहार गरेका हुन् ।
खोइला प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी कार चालक रहेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए । खोइला प्रहार गर्ने व्यक्ति कुनै राजनीतिक दलमा आवद्ध रहेको नपाइएको र सामान्य भाडामा कार चलाउने व्यक्ति रहेको पाइएको उनले बताए ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी नियन्त्रणमै रहेका रानाभाटले आफूले रविलाई लक्षित गरेर प्रहार नगरेको दाबी गरेका छन् । ‘मैले रवि सरलाई प्रहार गरेको होइन, मकै खाँदै थिएँ । खोइला फाल्ने क्रममा म चिप्लिएर एक जना दिदिलाई लाग्यो उहाँले यही हो प्रहार गर्ने भन्नुभयो । अनि सहभागीले आक्रमण गरे । अनि प्रहरी सरहरुले मलाई यहाँ ल्याउनुभयो’ उनले भने ।
यता रास्वपा अध्यक्ष रवि लामिछानेले भने सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई प्रहार गर्ने पात्रलाई फूलको थुंगा दिएर घर पुर्याउन भनेका छन् । आफूमाथि जस्तोसुकै आक्रमण भएपनि आफ्नो अभियान जारी रहने उनले बताए ।