पोखरा ।
पोखरामा भोलिबाट नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी सुरु हुँदैछ । भोलि सुरु हुने गष्ठीको सम्पूर्ण तयारी पुरा भएको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना, रेडक्रस कास्की शाखाको व्यवस्थापन र यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. फूलबारी पोखराको आतिथ्यतामा हुन लागेको गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको रेडक्रस सोसाइटी केन्द्रीय जुनियर यूवा विभागका सभापति विष्णुप्रसाद नेपालले जानकारी दिए ।
‘विश्वव्यापी रुपमा अभिप्रेरित, स्थानिय रुपमा सशक्तीकृत : जलवायूसम्बन्धी गतिविधिमा जुनियर तथा यूवा’ भन्ने नाराका साथ फुलबारी स्थित शिवशक्ति मा.वि.मा यही दुई दिन चल्ने गोष्ठीमा सहभागि हुन देशभरका जुनियर जुनियर तथा यूवा र शिक्षक नायकहरु पोखरा आउनेक्रम जारी रहेको उक्त अवसरमा जानकारी दिइएको छ ।
झण्डै ४ वर्षपछि हुन लागेको गोष्ठीमा रक्तदानको महत्व, जलवायु सचेतना र यसको लागि जुनियर यूवाको भूमिका, यूवाको अनुभव आदान प्रदान, साइबर सुरक्षा शिक्षा, परिवर्तक अभियान,सडक दुर्घटनासम्बन्धी विषय, विपद व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक अभ्यासका विषयमा छलफल तथा अन्तरक्रियात्मक प्रस्तुति रहने सभापति नेपालले जानकारी दिए । ‘देशभरका रेडक्रसकर्मी एकै थलोमा भेला भई स्वयमसेवाको भावना उजागर गरी रेडक्रसको गतिविधि, नीति तथा कार्यक्रमका साथै अनुभव आदान प्रदान र छलफल गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ’ उनले भने ।
गोष्ठीमा वर्षभरि विभिन्न विधा तथा प्रतियोगितामा उत्कृष्ट स्थान हाँँसिल गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गरिने कार्यक्रमसमेत तय गरिएको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्माले बताए ।
गोष्ठीको शनिबार बिहान साढे ७ बजे पोखराको महेन्द्रपुलस्थित सैनिकगेट रानीपौवाबाट झाँकी तथा ¥यालीसहित प्रभातफेरी कार्यक्रम गर्दै कार्यक्रम स्थलमा पुगी उद्घाटन सत्रमा परिणत गर्ने गरि तयारी भइरहेको शिवशक्ति मा.वि.का प्रधानाध्यापक शम्भुराज बास्तोलाले जानकारी दिए ।














