काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको सांगठनिक कार्य विभाजन आगामी स्थायी कमिटी बैठकबाट गरिने भएको छ । माओवादीको बुधवार सम्पन्न पदाधिकारी बैठकले आगामी पुस अन्तिम साता बस्ने स्थायी कमिटी बैठकबाट नेताहरूको कार्य विभाजन टुंगो लगाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
‘पार्टी स्थायी समितिको बैठक पौषको अन्तिम हप्तामा बस्ने निर्णय भएको छ’, ती नेताले भने, ‘पार्टीको जनतासँग माओवादी अभियानका साथै विधान मस्यौदा माथि छलफल गरेर परिमार्जन गरिन्छ । सोअनुसार तल्ला कमिटीहरूमा छलफल तथा सुझावका लागि पठाउने र एक महिनासम्म छलफल गराउने भन्ने भएको छ । सांगठनिक कार्य विभाजन पनि स्थायी समितिको बैठकबाट गर्ने निर्णय भएको छ ।’
उनका अनुसार विधान अधिवेशन फागुनको पहिलो सातामा गर्ने निर्णय भएको छ भने मिति, स्थान र प्रतिनिधि बारे स्थायी समितिको बैठकले टुङ्गो लगाउने छ ।
पदाधिकारी बैठकले नै उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश शाह र सुरेन्द्र कुमार कार्की सम्मिलित सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गरी सक्ने बताइएको छ ।













