पोखरा ।
प्रधानमन्त्री प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले आफू स्वदेशमै रहेको र यहीँ डटेर खटेर बस्ने बताएकी छन् ।
आफूलाई विदेश पलायन भएको भन्दै केही सञ्चार माध्यमले लेखेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेर यस्तो बताएकी हुन् । उनले आफू अमेरिका जानुको कारण खुलाउँदै एक महिना अगाडि नै फर्केको समेत जानकारी गराएकी छन् ।
त्रिपाठीले प्रधानमन्त्री प्रचण्डको विषयमा नै गलत सन्देश दिन खोजिएको प्रति आफू सचेत रहेको उल्लेख गरेकी छन् । आफू पार्टी र पारिवारिक काममा ब्यस्त रहेको पनि उनले बताएकी छन् ।
पार्टी र पारिवारिक काममा ब्यस्त हुँदा विमानस्थलमा खिचिएको पुरानो तस्बिर हालेर गलत सन्देश दिन खोजिएको उनको टिप्पणी छ । ‘युनेस्को क्लव, यूएसएको निमन्त्रणामा म युथ लिडरसिप कन्फ्रेन्स इन लस एन्जलस, क्यालिफोर्नियामा सहभागि भइ नेपाल फर्केको पनि एक महिना भइसक्यो । पार्टी र पारिवारिक काममा ब्यस्त छु । तर, केही संचारमाध्यम मलाई अमेरिका बसाइ सरेको भनि प्रचार गर्न ब्यस्त रहेछन्, बिमानस्थलमा खिचिएको पूरानो तस्बिर हालिवरी । सम्माननीय प्रधानमन्त्रीले देशमै केही गर्नुपर्छ भन्ने सन्देश आमरुपमा दिइरहेको सन्दर्भमा वहाँ कै परिवारको सदस्य परदेसिएको गलत सन्देश दिन खोजिएको कुराप्रति हामी सचेत छौँ । म सबै सुभेच्छुकसँग सादर निबेदन गर्दछु–म यहीँ छु, यहीँ डटिरहने हो, खटिरहने हो’ लेखेकी छन् ।