काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएको भन्दै थापाले बर्खास्तीको माग गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।
बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए, राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।
उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भनेका थिए ।
मन्त्री किराँतीको यो अभिव्यक्ति अहिले निकै विवादित बनिरहेको छ ।













