लेखनाथ महोत्सव आज देखि, ९ करोड हाराहारीको कारोबार हुने अपेक्षा

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघले प्रत्यक वर्ष आयोजना गर्ने लेखनाथ महोत्सवको १९ औं संस्करण आजदेखि सुरु हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय विकास र समृद्धि’ नाराका साथ आयोजित महोत्सवको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् । महोत्सव १६ पुससम्म चल्नेछ ।

यस वर्षको महोत्सवमा नेपालमा बनेका सामग्रीको बजारीकरणलाई प्राथमिकता दिइएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवमा यसपालि स्वदेशमा उत्पादन भएका वस्तुको वजारीकरण, उपभोग तथा उत्पादनमा प्रत्साहन गरिने भएको छ । स्वदेशी उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने महोत्सवमा हुने ३ सय ३४ स्टल रहनेछन् । तीमध्ये १६ वटा स्टल राष्ट्रिय उत्पादनका हुने छन् भने यस बाहेकका अन्य स्टलमा पनि स्वदेशी उत्पादनकै प्रवद्धन गर्ने योजना छ ।

महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) यो महोत्सवले कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दीबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए।

पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्ने योजना रहेको उनले बताए।

महोत्सवमा २ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने र ९ करोड हाराहारी कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवमा ९० लाख आम्दानी हुने र ८० लाख खर्च भई १० लाख बचत हुने अनुमान छ ।

  • ५ पुष २०८०, बिहीबार ०८:१४ प्रकाशित