काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए ।
जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ । ती पदाधिकारीले आन्दोलनमा जाने निर्णय भएसँगै पार्टी तत्काल प्रदेश र संघीय सरकारमा सहभागी हुने सम्भावना सकिएको बताए ।
पार्टीले आन्दोलनमा जाने निर्णय गरेको छ । यो निर्णयसँगै अब तत्काल दुवै तहको सरकारमा सहभागी हुने च्याप्टर क्लोज भएको छ’, ती पदाधिकारीले भने, ‘आन्दोलनका लागि पुस र माघमा आन्तरिक तयारी गर्ने र फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने भन्ने भएको छ ।’
कोशी प्रदेशमा राप्रपा सरकारमा सहभागी हुनसक्ने चर्चा चल्दै आएको थियो भने संघमा पनि बेलाबेला सरकारमा सहभागिताको विषयमा छलफल हुने गरेको थियो । तर, राप्रपाभित्र सरकारको सहभागिताबारे दुई लाइन रहँदै आएको छ । अध्यक्ष लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा रहँदै आएका छन् ।
यही दुई लाइन मतका बीच राप्रपाले आन्दोलनमा जाने निर्णय गरेसँगै सरकारमा सहभागिताको च्याप्टर सकिएको नेताहरूको भनाइ छ ।
पदाधिकारीबाट राप्रपाको आन्दोलन मूल आयोजक समितिको अध्यक्ष राजेन्द्र लिङ्देन र आन्दोलन परिचालन समितिको संयोजकमा महामन्त्री धवल शमशेर राणा रहनेगरी निर्णय भएको बताइएको छ । लिङ्देनको चाहनाअनुसार अध्यक्ष र महामन्त्री दुबैको भूमिका रहनेगरी आन्दोलनसम्बनन्धी निर्णय गराइएको बताइएको छ ।
यसअघि सोमबार समूहगत छलफल हुँदा कोशी र गण्डकी प्रदेशको संयोजकबाट अध्यक्षकै नेतृत्वमा आन्दोलनमा जानुपर्ने धारणा आएको थियो ।