सुदूरपश्चिममा जाउँ है पोखरा अभियान

पोखरासंग सुदूरपश्चिमको सिधा हवाई कनेक्सनमा जोड

केन्द्रभाग मिडिया

धनगढी ।
पोखरा र धनगढी बीच सिधा हवाई उडान हुनुपर्नेमा पोखरा र धनगढीका पर्यटन व्यवसायीले जोड दिएका छन् । होटल संघ पोखरा र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशकको संयुक्त आयोजनामा जारी जाउँ है पोखरा अभियान अन्तर्गत भएको अन्तरक्रिया एवं पत्रकार भेटघाट कार्यक्रममा बोल्ने व्यवसायीले यस्तो बताएका हुन् ।

पोखरालाई केन्द्र सरकारले पर्यटकीय राजधानी घोषणा नगरेपनि पोखरा पर्यटकीय राजधानी रहेको भन्दै उनीहरुले पर्यटकीय राजधानीसंग हरेक पर्यटकीय केन्द्ररु जोड्न जरुरी रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले पर्यटकीय पूर्वाधार निर्माणको क्रममा रहेको जानकारी दिँदै संघ र प्रदेश सरकारसंग सहकार्यमा पर्यटकीय प्रवद्र्धनका कार्य गर्न सक्ने बताइन् । उनले धनगढीले वार्षिक दुई सय जना जेष्ठ नागरिकलाई पोखरा हुँदै मुक्तिनाथ लैजाने गरेको जानकारी दिइन् ।

उनले पोखरा र धनगढीको बीचमा सांस्कृति आदानप्रदान गनुपर्नेमा जोड दिइन् । उनले होटलहरुका मेनुमा स्थानीय उत्पादनबाट बनेका परिकारहरु राख्न उनले आग्रह गरिन् । धनगढी र समग्र सुदूर प्रदेशमा नै पर्यटकका लागि अकर्षक पर्यटकीय गन्तव्यहरु रहेको तर त्यसको उचित प्रचार हुन नसकेको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जिवनाथ पौडेलले पर्यटन प्रवद्र्धनका लागि पोखरा र गण्डकी प्रदेशसंग धेरै सिक्नुपर्ने अवस्था रहेको बताए । कैलालीमा पोखरामा भन्दा धेरै ताल रहेको तर व्यवस्थापन गर्न नसकिएको उनको भनाई छ ।

निजी क्षेत्रलाई सुदूर पश्चिममा पर्यटन प्रवद्र्धन र पर्यटन क्षेत्रको पूर्वाधार विकासमा गर्नुपर्ने गर्नुपर्ने विकासका लागि ठोस प्रस्ताव ल्याउन उनले आग्रह गरे । गण्डकी प्रदेश सरकार र पोखराका पर्यटन व्यवसायीसंग सहकार्य गरेर सुदूर प्रदेश सरकार अगाडि बढ्ने उनले प्रतितवद्धाता जनाएका छन् ।

होटल व्यवसायी महासंघका पर्यटन सचिव कलमबहादुर बमले विगत २० वर्षदेखि जाउँ है पोखरा अभियान सञ्चालन भएको स्मरण गरे । उनले यो अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए । राज्यका तीन तहका सरकारका बीचमा राम्रो सहकार्य हुन नसक्दा व्यवसायीलाई मर्का परेको सुनाए । निजी क्षेत्रलाई राज्यले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

धनगढी महानगरले जेष्ठ नागरिकलाई मुक्तिनाथमा हरेक वर्ष मुक्तिनाथ पठाउने गरेको जानकारी दिँदै पोखराबाट पनि सुदूर पश्चिमाका लागि प्याकेज ल्याइनुपर्ने बताए । उनले सुदूर पश्चिमबाट पोखरा सिधा उडान जोड्न सके भारतीय पर्यटकलाई सहज हुने बताए ।

पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड व्यवसायीसंग मिलेर पर्यटन प्रवद्र्धनका लागि लागि परेको बताए । भारत र चीन पर्यटकको समुन्द्र नै रहेको भन्दै नेपालले गिलास थापेर बस्दा पनि त्यो भर्न नसकिएको टिप्पणी गरे । भारत र चीनको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सकेमात्र पनि नेपालको पर्यटन क्षेत्र अत्याधिक रुपमा चलायमान हुने उनको भनाई छ ।

दुवै देशलाई समानढंगले आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । उनले पर्यटन वोर्ड पर्यटन प्रवद्र्धनका लागि नै खोलिएको संस्था भएकाले प्रवद्र्धनका कार्यक्रममा सधंै व्यवसायीको साथमा रहेको बताए । पर्यटन वोर्ड गण्डकी प्रदेशले सीमावर्ती क्षेत्रमा सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन सहज हुने अपेक्षा समेत गरे ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले सुदूर प्रदेशसंग पोखरामा सिधा हावाई कनेक्सन हुनपर्नेमा जोड दिए । उनले त्यसो हुन सके विशाल जनसंख्या रहेको भारतको उत्तर प्रदेशबाट सुदूर पश्चिम ट्रान्जिट बनाएर पर्यटक पोखरा पुग्ने बताए ।

नाट्टा सुदूर पश्चिमाञ्चल प्रदेश संघका अध्यक्ष शिवहरि पाण्डेले कोभिड पछि पर्यटन व्यवसायी पलायन हुने अवस्थाबाट अहिले लयमा फर्केको बताएका छन् । महत्वपूर्ण पर्यटकीय पूर्वाधार अपी र सैपाल हिमालसहित धार्मिक आस्था बोक्नेहरुका लागि धार्मिक स्थल र सहसिक पर्यटकका लागि पनि महत्वपूर्ण स्थल रहेका जानकारी दिए ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले पोखराका व्यवसायीले चलाएको अभियान आँफूहरुका लागि भएको बताए ।

कार्यक्रममा बोल्दै होटल सघं पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराले चलाएको जाउँ है पोखरा र चलिए पोखरा लगायतका कार्यक्रमका साथै अन्य पर्यटकीय संघ संस्थाहरुले चलाएका अभियानले अहिले पोखरा पर्यटन चलायमान बनाएको धारणा राखे । उनले जाउँ है पोखरा पोखरा अभियान पुगेका सबै स्थलको साझा कार्यक्रम रहेको बताए ।

पोखरा आउने पर्यटकले न्यानो आतिथ्यताको महसुस् गर्ने र प्राकृतिक, सांस्कृतिक एवं साहसिक गतिविधि लगायत सबै हिसावले पोखरा घुमाइ र बसाइँ यादगार रहने उनले सुनाए ।

होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रबारबाट सुरु जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रसहित नेपालगन्ज हुँदै धनगढी पुगेको जानकारी दिइन् । अभियान महेन्द्रनगरसम्म पुगेर पोखरा फर्कनेछ । होटल संघ पोखराका कोषाध्यक्ष रमेस पौडेलका अनुसार अभियान टोलीमा पोखराबाट होटलसंघ सहित पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि र पत्रकार समावेश छन् ।

अभियानमा अन्तर्गत पुग्ने स्थानमा महेन्द्रनगरमा पनि पत्रकार सम्मेलनका साथै सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिने छ ।

 

  • २ पुष २०८०, सोमबार १२:४४ प्रकाशित