पोखरा ।
कोपिला बाल गृहको सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ । पोखरा–१२ स्थित सितलादेवीमा अवस्थित बाल गृहको शनिबार एक कार्यक्रमका विच सामाजिक लेखा जोखा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परीषद् गण्डकीका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालबालिकाको संरक्षण गर्ने दायित्व राज्यको भएपनि गैह्रसरकारी संस्थाहरु राज्यको सर्पोटिङ संस्था रुपमा रहेको बताए । गैह्रसरकारी संस्थाले गरेको कामलाईपनि सरकारले गरेकै कामका रुपमा बुझिदिन उनले आग्रह गरे । उनले भने, ‘बालबालिकालाई संरक्षण गर्ने दायित्व राज्यको हो क्लियर छ । त्यसमा सरकारले नसकेको अवस्थामा गैह्रसरकारी संस्थाहरु राज्यका सर्पोटिङ संस्थाहरु हुन् । हामी राज्यभन्दा बाहिर होइनौं ।’
राज्यले के ग¥यो भन्ने प्रश्नप्रति इङ्गित गर्दै उनले राज्यले काम गर्ने अनुमति दिएर काम गरिरहेको हुनाले संघसंस्थाहरुले राज्यलाई सहयोग गर्नुपर्ने बताए । उनले कोपिला बालगृह आफुहरुको मूल्याङ्कनमा राम्रो रहेको भन्दै यसलाई अझ राम्रो बन्ने गरि अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापाले सामाजिक लेखा जोखा विधि पूर्वक गरेकोमा प्रशंसा व्यक्त गरे । उनले कोपिला बालगृह सबै हिसावले उत्कृष्ट लागेको बताए । नेपाल विकासोन्मुख राष्ट्रबाट विकासशिल राष्ट्रमा घोषित भएपछि संघसंस्थालाई आउने दातृ निकायको सहयोग जोखिममा पर्नेप्रति उनले चिन्ता व्यक्त गरे । उनले यसको दिगोपनाका लागि सरकारको उपस्थिती देखिने गरि नीति आएमा केही राहत हुने विचार व्यक्त गरे । उनले कास्कीमा ५ हजार बढी संघसंस्था दर्ता भएपनि अहिले दुई सयको हाराहारीमा सञ्चालनमा रहेको र आफुहरुसँग १५७ वटा संस्थाहरु आवद्ध रहेको जानकारी दिए ।
कार्यक्रममा बाल गृहसञ्जाल पोखराका अध्यक्ष मोहनप्रसाद त्रिपाठीले बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापहरुमापनि सहभागि गराउन आग्रह गरे । बाल हेल्पलाइन सिविन नेपालका शंकर नेपालीले अझ धेरै बालबालिकाको संरक्षण गर्ने काम गर्न सफलता मिलोस् भनि कामना गरे ।
कार्यक्रममा सरस्वती टिका मा.वि. पोखरा–३३ का प्रधानाध्यापक सूर्यराज अधिकारी, चापापानी टोल विकास संस्थाका अध्यक्ष प्रेमराज कार्की, सितलादेवी आमा समूहका अध्यक्ष गंगादेवी कार्की, स्थानिय मिनकाजी कार्की, विद्यार्थी शर्मिला श्रेष्ठ लगायतले कोपिला बाल गृहले गरेको प्रशंसनीय कार्यको चर्चा गर्दै अझ बढि प्रगतीको शुभकामना व्यक्त गरे । उनीहरुले घरमा भन्दा बालगृहमा रहेका बालबालिकाहरुले राम्रो स्याहार सुसार पाएको महशुस गरेको बताए । बालगृहको वातावरणले उनीहरुलाई अभिभावकको अभाव खड्किन नपाएको उनीहरुको भनाई थियो ।
२०६३ सालमा स्थापना भएको बालगृहमा आवासिय र छात्रवृत्तितर्फ गरि ७८ जना बालबालिकाले सेवा लिएका छन् । यस्तै २६ जना बालबालिका पुनस्थापित भइसकेको बाल गृहकी निर्देशक रमिला श्रेष्ठले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष भुपालजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले सामाजिक लेखा जोखा सम्बन्धी प्रस्तुति र सञ्चालन सचिव सुरजीत सेन ठकुरीले गरेका थिए ।
कास्कीमा हाल कोपिला बालगृहसहित २५ देखि ३० को संख्यामा बालगृहहरु सञ्चालनमा रहेका छन् ।














