पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुनै आजित भइसकेको दाबी गरेका छन् ।
बिहीवार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे ।
अध्यक्ष ओलीले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए । उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए ।
‘नेपाली कांग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर। किनभने नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् ।
राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ।’ उनले भने, ‘तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ।’
अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गरे । उनले देशमा एउटा राष्ट्रिय शक्ति मजबुत नभए, सुशासन र विकासको पक्षमा जनशक्ति नभए, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन नसके देश बर्बाद हुने बताए।















