पोखरा ।
पोखरा महानगरपालिकाले नदीजन्य समाग्री ढुवानी तथा ओसारपोसार गर्न मापदण्ड तोकेको छ । हिजो मात्रै महानगरभित्र प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य सामाग्री ओसार्ने ५६ वटा सवारीलाई महानगरले नियन्त्रणमा लिएको थियो ।
प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य सामाग्री विक्री वितरण भइरहेको सूचना पाएपछि महानगरले मापदण्ड निर्धारण गरेको हो ।सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंगलबार बसेको बैठकले मापदण्ड तोकिएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए ।
उनका अनुसार अबका दिनमा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने छ ।
पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यादेश र चलानी पुर्जा अनिवार्य रुपमा साथमा हुनुपर्ने र क्रसरहरुले बिक्री गर्दा अनिवार्य रुपमा बिल/विजक जारी गरी ढुवानी गनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
यस्तै नदिजन्य सामाग्री बिक्रि गर्ने डिपोहरुबाट ५० लाख सम्मको वार्षिक कारोबार गर्ने भएमा प्यान बिल जारी गर्न पाइने र सो भन्दा माथिको कारोबार हुने भएमा भ्याट विल जारी हुनुपर्ने र ढुवानी गर्दा बुदा नंम्बर १ बमोजिमको कागजात समेत साथमा हुनुपर्ने मापदण्ड तोकिएको छ ।