काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै उनले यस्तो बताएका हुन्
सेयर बजार र घरजग्गाको कारोबार बढेको र अब अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको उनको भनाई छ । उनले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा देखिन थालेको दाबी गरे।
‘घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको छ ।’ उनले भने, ‘हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ ।’
समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि २०८० को चैतसम्म दिइएको र यसले व्यवसायीलाई राहत दिने उनको भनाइ छ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको अर्थमन्त्री महतले बताएका छन् ।