न्यायिक समिति सदस्य भावना श्रेष्ठमाथि घुस लिएको आरोप, आरोप पछि दिइन् राजीनामा

केन्द्रभाग मिडिया

पोखरा ।

घुस लिएको आरोपपछि पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् ।घडेरी विवाद मिलाइदिने भन्दै घुस लिएको भन्ने सार्वजनिक भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी हुन् ।

पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ ।

उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले २ लाखको चेक लिएको आरोप लागेको हो । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएको खुल्न आएको छ । यद्यपि उक्त आरोपको गुरुङले खण्डन गर्दै भावनाले राजीनामा पत्र म्यासेन्जरबाट पठाएको बताइन् ।
विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताइन् ।

शुक्रबार आरोपसहितको समाचार सार्वजनिक भएपछि उहाँले म्यासेन्जरमार्फत राजीनामा पत्र पठाउनुभएको रहेछ। विशेष परिस्थितिको कारण भन्नुभएको छ, अरु कारण खुलेको छैन,’गुरुङले भनिन् ।

गुरुङले आफुलाई यस्ता प्रलोभनमा नपर्ने र आफ्ले कहि कतै गल्ती नगरेको स्पष्ट पारेकी छिन् ।

  • २६ मंसिर २०८०, मंगलवार १५:५५ प्रकाशित