सीमा क्षेत्र दशगजामा गोली चल्यो, एक घाइते

केन्द्रभाग मिडिया

विराटनगर ।

नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली चलेको छ । विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको हो । आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन्

विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।

‘उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको थिएँ । साँझ घर फर्किने क्रममा जोगवनीदेखि उत्तर रेलको स्टेसनदेखि माथितिर दक्षिण गेटबाट विराटनगर जाँदै थिए । त्यही बिचमा ६ जना केटाहरूसँग भेट भयो । केही बेर भनाभन भयो । एक जनाले मलाई गोली हाने,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने ।

कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेट जस्तो देखिएको बताए ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले घटना विषय अनुसन्धान भइरहेको बताएका छन् ।

  • २५ मंसिर २०८०, सोमबार ११:२३ प्रकाशित