बुटवल ।
रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् ।रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।
भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका छन् ।
प्रदर्शनमा सहभागीहरुले विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसंग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।
सरकारले माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सरोकारवालालाई भेटेर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।