काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।
सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको उनले बताए । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
डीआईजी चन्दका अनुसार, गोरखाका घले सुन बोक्न प्रयोग भएका भरिया मात्र हुन् । प्रहरीका अनुसार, घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले बताएको छ ।
थप अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।
यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।