काठमाडौँ ।
सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्मा दंगालले आजैदेखि छानबिनको काम अघि बढाउने बताएका छन् ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरबार पुगेका संयोजक दंगालले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि समितिले आजैदेखि काम अघि बढाउने बताए ।
मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।