आजदेखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला

केन्द्रभाग मिडिया

पोखरा।

आजदेखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुदैँछ। स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु हुने मेला पुस १ गतेसम्म सञ्चालन हुनेछ।मेलाको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाबाट पोखरालगायत देशक औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए।

‘लगानीको संवर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारमा सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ। मेलामा दुई सय ५० प्रदर्शनीकक्ष रहने छन्।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवं वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्द्धनका लागि विशेष कक्षको व्यवस्था गरिएको संघका महासचिव बलराम आचार्यले बताए।

संघका महासचिव बलराम आचार्यका अनुसार मेला प्रवेशका लागि सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ । ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । प्रतिप्रवेश टिकटमा जाजरकोट भूकम्पपीडितका लागि १० र विद्यार्थीको टिकटबाट पाँच रुपैयाँ छुट्याइने आचार्यले जानकारी दिए ।दर्शकले टिकट काट्दा पाउने कुपनबाट एक जनालाई स्कुटर उपहार प्रदान गरिने आचार्यले बताए।

  • २१ मंसिर २०८०, बिहीबार ०९:२२ प्रकाशित