प्याराग्लाइडिङ पाइलट स्व.निस्सिम थापाको दुर्घटनाबारे उचित अनुसन्धान, न्याय तथा क्षतिपुर्तिको माग

केन्द्रभाग मिडिया

पोखरा ।

प्याराग्लाइडिङ दुर्घटनाबाट ज्यान गुमाएका पाइलट निस्सिम थापाको दुर्घटनाबारे उचित अनुसन्धान, न्याय तथा क्षतिपुर्तिको माग गरिएको छ ।
निस्सिम थापा फाउन्डेसन पोखराले आज पत्रकार सम्मेलन गर्दै पाइलट निस्सिमको दुर्घटनाबारे अध्ययन अनुसन्धान उचित तवरले नभएको भन्दै सो माग गरेको हो ।

सुरक्षाकाको लागि आवश्यक पूर्वाधारहरुको पूर्वतयारी नहुदाँ निस्सिमले ज्यान गुमाउनु परेको भन्दै फाउन्डेसनले न्यायको माग गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्र्तगत प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिने क्रममा ज्यान गुमाएका निस्सिमको दुर्घटना नै रहस्यमय भएको फाउन्डेसनले उल्लेख गरेको छ ।

प्रतियोगिताको शुरुको उडानमा नै निस्सिमको नाम राख्नु, उडान भरेको ३ मिनेट भित्रै उनको दुर्घटना हुनु, प्रतियोगिता भएको स्थानमा अधिकांश आयोजक सदस्यहरु, सेफ्टी डाइरेक्टरहरु, एम्बुलेन्स, रेफ्री, तथा अन्य सम्बन्धित व्यक्ति तथा पक्षहरु अनुपस्थित हुनुले दुर्घटना रहस्यमय भएको फाउन्डेसनको भनाई छ । यी सबै कुरामा आवश्यक अनुसन्धान गरिदिन फाउन्डेसनले अपिल गरेको छ ।

स्वर्गीय पाइलट निस्सिम उडेको १ मिनेटको भिडिओ क्लिप मात्र उपलब्ध गराइएको र अन्य कुनै पनि भिडिओहरु उपलब्ध नगराइएको बताउँदै आयोजकहरुले लुकाएको हुनसक्ने फाउन्डेसनको आशंका छ ।

नेफा, ना पोखरा, प्याराग्लाइडिङ संघ गण्डकीले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट उडान अनुमतिनै नलिई राखेपसँग समन्वय गरि प्याग्लाइडिङ विद्यालाई खेलकुदमा समावेश गरिनु गैरकानुनी भएको र आयोजकहरुको लापरवाहीको कारण निस्सिमको ज्यान गएको भन्दै फाउन्डेसनले उक्त संस्थाहरुका तत्कालीन पदाधिकारीहरु माथि छानबिन गरि आवश्यक कानुनी कारबाहीको माग गरेको छ ।

फाउन्डेसनले पोखरा रंङशालामा पाइलट निस्सिमको शालिक निर्माण प्रकृयालाई छिटो सम्पन्न आग्रह गरेको छ । भने पोखरामा सोलो प्याराग्लाडिङ प्रतियोगितामा पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ ।

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीहरुले करोडौं रकम दुरुपयोग गरेको फाउन्डेसनको आरोप समेत छ ।
पैसाको चलखेलको लागि राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत अन्य खेलहरुका लागि ६ महिना अघिबाट तयारी गरिएकोमा प्याग्लाइडिङलाई भने १६ दिन अघिमात्र प्रतियोगितामा समावेश गरिदाँ आवश्यक तयारी बिना प्रतिष्पर्धा गराउँदा निस्सिमले ज्यान गुमाउनुपरेको फाउण्डेशनको निष्कर्ष छ ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याग्लाडिङ प्रतियोगितामा प्रतिष्पर्धा गर्ने क्रममा २०७९ असोज ३० गते दुर्घटना हुदाँ पाइलट निस्सिम थापाले ज्यान गुमाएका थिए ।

  • २० मंसिर २०८०, बुधबार १५:४९ प्रकाशित