पोखरा ।
एमालेको संकल्पयात्रा अभियान टोली मंसिर २१ गते अर्थात पर्सि(बिहीबार) कास्की आइपुग्ने भएको छ ।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रा अभियान टोली यात्राको आठौं दिन कास्की आइपुग्ने एमाले जिल्ला कमिटी कास्कीले आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । २१ गते आइपुग्ने टोलीलाई २२ गते कास्कीबाट बिदाई गरिने छ ।
टोली कास्कीमा आएसँगै विभिन्न स्थानमा कार्यक्रम हुने भएको छ । मंसिर २१ गते पर्वत जिल्लाको कुस्मा बजारमा दिउँसो १ बजे जनसभा आयोजना हुनेछ । सो सभामा कास्की जिल्लाका तर्फबाट व्यापक जनसहभागिता गराउने तयारी रहको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।
त्यसपछि नयाँपुलमा दिउँसो ३ बजे पदयात्रीलाई स्वागत गरिने भएको छ । उक्त स्वागतमा स्थायी कमिटी सदस्य एवम् कास्की जिल्ला इञ्चार्ज थममाया थापा सहित केन्द्रीय सदस्यहरु, सल्लाहकार सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु, पालिका कमिटी पदाधिकारीहरु, सदस्यहरु, इलाका कमिटी, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा कमिटीका अध्यक्षहरुको उपस्थिति रहने भएको छ ।
त्यसपश्चात दिउँसो ३ बजेर ४० मिनेटमा अन्नपूर्ण गाउँपालिका र नौडाँडामा स्वागत कार्यक्रम हुनेछ । त्यहाँ जिल्ला कमिटीको तर्फबाट केन्द्रीय सदस्य राजीव पहारीले कार्यक्रमको संयोजन गर्नेछन् ।
अपरान्ह ४ बजेर ३० मिनेटको समयमा हेम्जाको मिलनचोकमा स्वागत तथा भेटघाट कार्यक्रम हुनेछ । हेम्जा मिलनचोकको संयोजन केन्द्रीय सदस्य कृष्ण थापाले गर्नेछन् ।
उक्त दिन संकल्प यात्रा टोली पोखरा आई बास बस्नेछ ।भोलिपल्ट मंसिर २२ गते पोखराको जिरो किमी बाट बिहान ७ बजेर ३० मिनेटको समयमा संकल्प यात्राको टोलीले पुन यात्रा सुरु गर्नेछ ।
टोलीलाई ८ बजे अमरसिंहचोकमा केन्द्रीय सदस्य मीनाकुमारी गुरुङले स्वागत गर्नेछिन् । ९ बजे तालचोकमा स्वागत कार्यक्रम हुनेछ । तालचोकको संयोजन केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले गर्नेछिन् ।
बिहान ९ बजेर ३० मिनेटको समयमा रुपा गाउँपालिकाको तालबेसीमा स्वागत हुनेछ ।बिहान १० बजेर १५ मिनेटको समयमा रुपा गाउँपालिका पिपलेबजारबाट टोलीलाई बिदाइ गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।संकल्प यात्रा कास्कीबाट बिदाई भई लमजुङतर्फ प्रस्थान गर्नेछ ।
बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरि संकल्प यात्रा अभियानको आरम्भ भएको थियो ।
लोकतान्त्रिक, गणतन्त्र, नेपालको संविधान र उपलब्धीलाई अवमूल्यन गर्दै नकारात्मक मनोविज्ञान र नैरास्यलाई अन्त्य गरि आत्मविश्वास निर्माण गर्नु, समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु संकल्पयात्रा अभियानको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ ।
अभियानको क्रममा जनसभा, जनभेला, भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीहरुसँग छलफल, किसानहरुसँग अन्तरक्रिया, कृषि वैज्ञानिकहरुसँग संवाद, विकास कार्यहरुको अवलोकन, उद्यमीहरुसँग भेटघाट, ऐतिहासिक, धार्मिक र साँस्कृतिक स्थलहरुको अवलोकन, जनताका गुनासा र सुझावहरुको संकलन गरिएको छ ।